काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहलाई हिंसा गर्न शक्ति सञ्चय गर्नेगरी वार्ता नहुने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न नियमितरुपमा हुँदै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले भने, “पक्राउ परेकालाई छोडेर फेरि बन्दुक भिर्ने, बम पड्काउन दिने र शक्ती संचय गर्नेगरी कुनै वार्ता हुदैन, यसमा प्रष्ट भए हुन्छ ।”
सरकारले सिके राउतलाई शान्तीपुर्ण राजनितीमा ल्याएको प्रसंग कोट्याउँदै मन्त्री बास्कोटाले भने, ” सिके राउतझै विप्लव समुह पनि शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ, आप्mनो पार्टी दर्ता गरेर राजनितीक प्रतिस्पर्धामा गर्नुपर्छ ।”
त्यसरी शान्तीपुर्ण राजनितीमा आउनका लागि सरकार वार्ता गर्न सधै तयार रहेको भन्दै उनले वार्ता दाउपेच र छक्का पञ्जा गर्ने हिसावले नहुने बताए ।
संविधान मानेर हिंसा छाडेर शान्तीपुर्ण राजनितीमा आएमा जुनसुकै बेला वार्ता हुने उनको भनाई थियो ।
विप्लव समुहसंग सरकारको अनौपचारिकरुपमा वार्ता भइरहेको भएपनि औपचारिक रूपमा वार्ता गर्न पहिला हिंसा छाड्नुपर्ने मन्त्री बाँस्कोटाले प्रष्ट पारे।










