काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । पुष्पलालको योगदानको गर्दै हरेक बर्ष आजकै दिन कम्युनिष्टप्रती आस्था राख्नेहरुले उनलाई सम्झिने गर्दछन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न ठुलो योगदान गरेका पुष्पलालको विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्म भएको थियो । उनले नेपालमा विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए ।
नेपाली सर्वहारा बर्गको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पार्टी स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी जनतालाई कम्युनिष्टबारे जागृत गरेका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित छन् । पुष्पलालले जीवनभर नेपाली जनताको अधिकार स्थापना र स्वतन्त्रताका लागि लडेको इतिहास छ ।
पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ समेत हुन् । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनि पहिलो नेता हुन् ।










