गुल्मी । अविरल बर्षापछि पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल बर्षाका कारण गुल्मीको सत्यावती गाउँपालिकाको दुई वटा गाँउमा पहिरोमा परी ६ जनाको मृत्यु भएको हो ।
सत्यावती गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा घर भत्किँदा ३० बर्षीय तिलकुमारी त्रामु र उनका छोरा १० बर्षका दर्शन त्रामुको मृत्यु भएको हो । पहिरोमा परी तिलकुमारीकी छोरीहरु १२ बर्षीया करिश्मा र १४ बर्षीकी धनी घाइते भएकी छन् ।
सोहि गाँउमा रुद्ध बहादुर बिकको घर पनि पहिरोले बगाएको छ । घरमा रहेका रुद्ध बहादुर बिक र उनकी आमा बेपता रहेको स्थानीयहरुले बताएका छन् ।
त्यसैगरी सत्यावती गाउँपालिकाको वडा नम्बर ४ लिम्घामा पनि पहिरोमा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले
जनाएको छ ।
लिम्घा गाउँको उत्तरतर्फ रहेको भिरकुनामा गएराति पहिरोले तीन घर पुरेको हो। पहिरोले चन्द्र बिक, धनबहादुर विक र चन्द्र बिकको घर पुरेको स्थानीय सुरज शाहीले बताए।
त्यस ठाँउका भिरकुना, आरनटोला र भाडीटोला गरी तीन गाउँ पहिरोको उच्च जोखिममा छन् । तीन गाउँमा करिब १ सय ५० घर छन्।
घटनास्थलमा अझै प्रहरी पुग्न सकेन
घटना जिल्लाको दुर्गम ठाँउमा गएराती भएकाले प्रहरी समयमै त्यहाँ पुग्न सकेको छैन । अबिरल बर्षा र बाटोमा पहिरो गएका कारण प्रहरीको टोली घटनास्थलतर्फ जान कठिनाई भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटनास्थलतर्फ प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।











