
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् ।
कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री शाहीले तत्काल केन्द्र सरकारबाट कर्मचारीको माग गरेका हुन ।
मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ” कर्णाली प्रदेशमा तत्काल ३ हजारदेखि ३५ सय कर्मचारी आवश्यक छ, लोकसेवा आयोगबाट समय लाग्ने देखिन्छ, करारमा राख्न मिल्दैन, अनि काम कसरी गर्नु ?”
कर्मचारी समायोजनका बेला अधिकांशको रोजाईमा कर्णाली नपरेकाले कर्मचारीको अभाव भएको मुख्यमन्त्री शाहीले बताए।
कर्णाली जाऔं जाऔं लाग्ने गरी कर्मचारीको भत्ता बढाइदिन आग्रह गर्दै उनले कर्मचारी अभावले काम गर्ने उत्साह नबढेको बताए ।
प्राविधिक जनशक्ति करारमा भर्ना गर्ने सूचना प्रकाशित गरेको भएपनि कानुनी अड्चनका कारण रोकिएको उनले जानकारी दिए ।
‘कर्मचारी अभावले विकास निर्माणका काम अगाडि बढाउन नसक्दा जनताको अपेक्षा पूरा गर्न सकिएन, मुख्यमन्त्री शाहीले गुनासो पोखे ।










