काठमाडौं । अबरुद्ध रहेको संसद बैठक अब सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदको अवरोध खुलाउने सहमत गरेपछि संसद आजै दिउँसो बस्दैछ ।
बुधबार सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा उनीहरुबीच सहमति भएपछि संसद दिउँसो साढे दुई बजेदेखि सुचारु हुदैछ ।
कांग्रेस र राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने बैठकमा सहमति भएको सभामुख महराका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिए ।
सभामुख महरा पनि पूर्वनिर्धारित कार्यसूचीलाई हटाएर जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन सहमत भएका छन् ।
लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
दिउँसो बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिने गरी दलहरुबीच सहमति भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी सहभागि थिए ।
यता सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत बैठकमा सहभागी थिए ।
सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको मुठभेडमा भएको भनिएको मृत्युको विषयलाई लिएर कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका थिए ।










