
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरु साइकल चढेरै कार्यालय आउने जाने गरेका छन् ।
कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने उदेश्यले कर्मचारीहरु गाडी नचढेर साइकल चढ्न थालेका हुन ।
राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने प्रदेश सरकारको नीति रहेकाले त्यसलाई कार्यान्वयन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार खर्च कटौती र वातावरणमैत्री सहरको पहिचान दिने प्रदेश सरकारको नीतिअनुसार नै कर्मचारीहरुले साइकल चढ्न लागेका हुन ।
सुरुमा ५ वटा साइकल किनेर यस कार्यको सुरुवात गरेको प्रदेश सरकारले अहिले मोटरसाइकल किन्ने पैसाले थप १० वटा साइकल खरिद गरिएको छ ।
राजधानीलाई थप सुन्दर र ब्यवस्थित बनाउन प्रदेश सरकारले सदरमुकाम वीरेन्द्रनगरको सुब्बाकुनादेखि बाङगेसिमलसम्म १२ किलोमिटरको सडकमा साइकल ट्रयाक निर्माण गर्ने योजनासमेत अघि सारेको छ ।










