काठमाडौं । सर्वजनिक शौचालयलाई व्यवस्थित गर्ने योजनाका साथ अघि बढेको काठमाडौं महानगरपालिकाले फेरी एउटा नयाँ योजना ल्याएको छ । सडक छेउमा रहेका सार्वजनिक शौचाललाई व्यवस्थित गरी सरसफाई अभियानलाई सघाउने उदेश्यले नयाँ योजना ल्याएको हो ।
नयाँ योजना अन्तरगत महानगरले घरमा पालेको कुकुरलाई सार्वजनिक स्थानमा शौच गराए कारवाही गरिने छ । अहिले काठमाडौंमा धेरै घरधनीले आफुले घरमा पालेको कुकुरलाई शौच गराउन सार्वजनिक बाटोको छेउछाउ लिने गरेका छन् ।
मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो । यसका साथै महानगरले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ ।
एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।
एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ । यस्ता खालका ब्याक्टेरियाले मानिसलाई गम्भिर प्रकारका रोग लाग्ने गरेको बताइएको छ ।










