
काठमाडौं । कृषि विकास बैंकबाट करोडौं चोरी गर्ने ११ जना पक्राउ परेका छन । बैंकको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरण संलग्न उनिहरुलाई काठमाडौं लगायत विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ, कैलालीको भजनीका विजय कुमार शाह र भारत कलकताका शुभन्कर पन्जा रहेका छन् ।
उनीहरुको साथबाट बैंकबाट चोरी गरेको करिव ६० लाख रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोमबार र मङ्गलबार बैंकबाट अस्वभाविकरुपमा ट्रान्जेक्सन भएको पाइएपछि बैंकले तत्कालै प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको थियो भने उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार बैंकको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
कृषि विकास बैंकको बैङ्किङ सिस्टम ह्याक गरेर नभई कर्मचारीकै मिलेमतोमा रकम चोरी भएको बैङ्कको दाबी छ ।बैंक कर्मचारीकै मिलेमतोमा उक्त रकम ट्रान्सफर भएको हुनसक्ने प्रबल सम्भावना रहेको प्रहरीले समेत अनुमान गरेको ।
कृषि विकास बैंकमा भएको रकम चोरीमा ग्राहकको पैसा चोरी नभएको बैंकले जनाएको छ ।











