आइकाओको महासभामा मन्त्री योगेश भट्टराईले नेपालको हवाई सेवाबारे के भने ?

आईकाओ महासभामा सहभागीलाई नेपाल भ्रमणमा आउन आह्वान


काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा हवाई दुर्घटनाको दर घट्दै गएको र यसका लागि थप सुरक्षा मापदण्ड कायम गरिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभामा भाग लिन क्यानडा पुगेका मन्त्री भट्टराईले
सभालाई संवोधन गर्दै नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको बताएका हुन ।

क्यानाडाको मड्रियलमा जारी सभामा मन्त्री भट्टराईले हवाई यात्राका लागि नेपालको आकास सुरक्षित बन्दै गइरहेको विश्वास दिलाउने कोशिस गरेका छन् ।
युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग आफुहरुले हातेमालो र सहकार्य गरिरहेको समेत उनले बताए । नेपालले उड्डयन सुरक्षा निगरानी क्षमता अभिवृद्धिका लागि निरन्तर प्रयास अगाडि बढाइरहेको मन्त्री भट्टराईले बताए ।

हवाई सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नती गर्ने र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकारले नयाँ रणनीतिका साथ दिगो सञ्चालनको ढाँचा तय गर्न लागेको उनले उल्लेख गरे ।

नयाँ हवाई गन्तव्य वृद्धि गरी २० लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै मन्त्री भट्टराईले आईकाओ महासभामा सहभागी सबैलाई नेपाल भ्रमणमा आउन आह्वान समेत गरे ।

जारि महासभामा नेपालको तर्फबाट मन्त्री भट्टराई सहित पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी छन् ।

आइकाओको ७५ औं वर्ष पूरा भएको यस महासभामा १७२ राष्ट्रका १ हजार ८ सय ५० पर्यवेक्षक, ३५० सल्लाहकार, ६६ अन्तर्राष्ट्रिय संघसंस्थाका ३ सय जना गरी करिब २ हजार पाँच सय प्रतिनिधिहरु सहभागी छन् । सेप्टेम्बर २४ देखि शुरु भएको महासभा अक्टोबर ४ सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार