काठमाडौं । आफुलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप लगाएकी महिलाले जाहेरी दिने बारे श्रीमानसँग सल्लाह गर्ने बताएकी छन् । मंगलबार मुचुल्काका लागि उनको कोठामा पुगेको प्रहरीको टोलीलाई उनले श्रीमान् काठमाडौं बाहिर रहेको र फर्केपछि सल्लाह गरेर मात्रै जाहेरी दिनेबारे निर्णय गर्ने बताएकी हुन् ।
संसद सचिवालयमा कार्यरत ती महिलाले आइतबार राती महरा आफ्नो कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन् । साथै महराको चस्मा र अरु केही सामाग्री पनि उनकै कोठामा भेटिएको प्रहरीले बताएको छ ।
घटनाको बारेमा बुझ्न मंगलबार प्रहरीको टोली महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा र बानेश्वर वृत्तका प्रहरी महिलाको पेरिसडाँडास्थित कोठामा पुगेको थियो । प्रहरीले उनको कोठाबाट महराको भाँचिएको चस्मा, रक्सी, गिलास, कपडालगायत बरामद गरेको थियो।
बरामद भएका वस्तुको फिङ्गर प्रिन्ट परीक्षण गर्न विधिविज्ञान प्रयोगशाला पठाउने प्रहरीको तयारी छ।
यसैक्रममा पीडित भनिएकी महिलाका श्रीमान्ले पनि आफु काठमाडौं बाहिर रहेको र घटनाका बारेमा राम्रोसँग बुझ्न नपाएको बताएका छन् । उनले आफु फर्किदै गरेकाले यो विषयमा घरमा सल्लाह गर्ने बताएका छन् ।
बलात्कार आरोप लागेसँगै महराले भने मंगलबार दिउँसो सभामुखबाट राजीनामा दिएका छन्। भने प्रहरीले पनि पीडित महिलाको मौखिक उजुरीका आधारमा छानविन सूरु गरिसकेको छ ।