काठमाडौं । संसद सचिवालयमा काम गर्ने महिलालाई बलात्कार गरेको आरोपमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराका दुई छोराले फेसबुकमा एउटै खाले स्टाटस लेख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।
उनका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो सहितको स्टाटस राखेका हुन् ।
मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् ।
साथै उनीहरु दुबै जनाले एउटै स्टाटस जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।
निर्मल महरा ‘एटम’को स्टाटस
त्यसगरी उनका अर्का छोरा राहुलले पनि एटमकै स्टाटसलाई सेयर गरेका छन् ।
दुबै जनाको स्टाटसमा यस्तो लेखिएको छ ।
‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।
बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’