काठमाडौं । दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किनुभएको छ । राष्ट्रपति सी आज दिउँसो साढे २ बजे चीन फर्किनु भएको हो । उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गर्नुभएको हो । विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरुले राष्ट्रपति सीको बिदाइ गर्नुभएको हो । फर्कनुअघि नेपाली सेनाले सीलाई बिदाई सलामी अर्पण गरेको थियो।सी चिनियाँ ध्वजाबहाक जहाज एयर चाइनाको विशेष विमानमार्फत भारतको चेन्नाइबाट शनिबार काठमाडौं आउनुभएको थियो । २० घन्टा नेपालमा रहने भनिएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङ २२ घन्टा नेपालमा रहनुभएको हो । नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेकपा सचिवालय सदस्यहरूसँग भेट गर्नुभएको थियो । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आज द्वीपक्षीय हितका विभिन्न विषयमा छलफल र सम्झौता पनि भएको छ ।










