
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुमार पन्त निर्वाचित भएका छन्। संघको काठमाडौंमा सम्पन्न नवौं विश्व सम्मेलनबाट पन्त अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि भएको निर्वाचनमा पन्तले एक हजार दुई सय १७ मत पाए ।
उनका प्रतिस्पर्धी अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यले एक हजार ७० मत पाएका थिए । पन्त जर्मनी र आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन्। पन्तले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल संचालन गरेका छन् ।
संघको सम्पन्न निर्वाचनमा महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन् । त्यसैगरी, पाँच उपाध्यक्षहरुमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा निर्वाचित भएका छन् ।
सचिवमा गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्। निर्वाचनमा २ हजार ३ सय ४४ मत खसेको थियो। ४२ पदका लागि ७६ जनाले प्रतिस्पर्धा गरेका थिए । विश्वका विभिन्न ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि काठमाडौं आएका थिए।
बिशुद्ध गैर राजनितीक संगठनका रुपमा स्थापना भएको एनआरएनएमा पछिल्लो समय राजनिती हावी भएको समेत बताइन्छ । सम्पन्न निर्वाचनमा पनि सत्तारुढ नेकपा र काँग्रेसको प्रतिस्पर्धा भएको बताइन्छ । संधको अध्यक्षमा निर्वाचित पन्त नेकपा निकट मानिन्छन भने अध्यक्षमा पराजित भएका आर्चाय काँग्रेस निकट हुन ।










