
काठमाडौं । ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ ।
सरकारले शनिबार (आज) र आइतबार (भोली) दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अलबेन्डाजोल० खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए ।
उनका अनुसार छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत छ।
प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले आज बिहानै देखि भिटामिन ए र जुकाको औषधि खुवाउँदैछन् । शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ ।
भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन् ।










