
काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले समाजमा विकृती ल्याउने गीत गाउन कसैलाई छुट नभएको बताए ।
बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले के साँच्चिकै परिवारका सदस्यसंग बसेर गीत सुन्न सकिन्छ ? भन्दै गायक दुर्गेस थापा र र्यापर भिटेनबारे प्रश्न गरेका छन् ।
“पछिल्लो समय परिवारका सदस्यसँग बसेर सुन्न नसकिने खालका गीत आएका छन् मन्त्री बास्कोटाले भने, स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न मिल्दैन ।” कलाकारिता समाजको ऐना भएको भन्दै मन्त्री बास्कोटाले कहिलेकाही त्यसले इतिहास पनि रचना गर्ने बताए ।
“गाउनै नपाउने भनेर हामीले भनेका छौँ र ? जे पनि गाउँछ भने तपाई आफ्नो दिदी भाई दिदी बहिनी परिवारसँग तिनले गाएको गीत सुन्न सक्नुहुन्छ ? उनले प्रश्न गरे, समाजको एउटा मूल्य पद्धति हुन्छ, त्यसमा कसैले गल्ती नगरुन ।”
मन्त्री बास्कोटाले १८ बर्ष मुनिकाले अमेरिकामा रक्सि किन्न नपाउने कानुन रहेको उदाहरण दिँदै समाजमा अराजकता हैन, अनुशासन चाहिएको बताए ।
“अब कसैलाई नगर्नु भनेकै कुरा एकदम नगरी नहुने हो भने मान्छे लगाएर मारे पनि ठिकै छ, जिउँदै भट्टामा हाले पनि ठिकै छ, अरुका छोरी चेली झम्टिएको पनि ठिकै छ, मनपरी बोल्या पनि ठिकै छ, भष्टाचार गरेको पनि झन राम्रै भयो बहादुरी गरेको भयो झन् ठूलो कार्य भयो । हामी कस्तो समाज बनाउन चाहन्छौँ ? हामीले ल्याएको लोकतन्त्र अराजकताको लागि हैन,” मन्त्री बास्कोटाले भने।











