
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच दुरी बढेको समाचार आइरहेका बेला दुबैजनाले आज बिहान भेटवार्ता गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनिहरुबीच झण्डै एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको हो बालुवाटार स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच भएको भेटवार्तामा बिशेषगरी मंसिर १४ हुने उपनिर्वाचनबारे गम्भिर छलफल भएको अध्यक्ष प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ । भेटर्वातामा पछिल्लो राजनीतिक अवस्था र पार्टी एकता लगायतका विषयमा समेत कुराकानी भएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई लिएर विभिन्न समाचार आएपछि त्यो भ्रम चिर्नका लागि पनि दुबैजनाले भेटेर कुराकानी गरेको बताइएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दुरी बढेको समाचार आएपछि विदेशबाट फर्केकै दिन ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच दुरी नबढेको प्रष्ट पारेका थिए ।










