काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएकाे जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ ।
प्रहरीविरुद्ध ६ जना भीआईपी जुवाडेले आइतबार बन्दीप्रत्यक्षीकरणाकाे रिट दायर गरे पनि इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले सोमबार र बुधबार पुनः अर्को रिट दिएपछि सबै जनालाई सँगै उपस्थित गराउन अदालतले आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ’… बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखि बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’
उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो । बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।
बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘रिट दिनेहरुलाई बिहीबार बिहान अदालतमा उपस्थित गराउनेछौं ।’













