पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ४६ को मृत्यु


काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु हुनका साथै ४२ यात्रु घाइते भएका छन् । बिबिसिका अनुसार राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो ।

आगलागीबाट मृत्यु भएकाहरुको सनाखत भइनसकेको बताइएको छ भने घाइतेहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।

रेलमा सवार यात्रुहरुले खानेकुरा, ग्याँस सिलिण्डर लगायतका सामाग्री बोकेका कारण सिलिन्डर लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आइसकेको बताइएको छ ।

प्रधानमन्त्रीद्धारा दुख ब्यक्त, मृतक र घाइतेलाई राहात दिइने

रेलमा भएको आगलागीको घटनामा पाकिस्तानी प्रधानमन्त्री इमरान ख़ानले गहिरो दुख ब्यक्त गरेका छन् । साथै उनले आगलागीबाट घाइते भएकाहरु उपचारमा कुनै कमी नराख्न सम्बन्धित निकायलाई आदेश दिएका छन् ।

त्यस्तै घटनाबारे बोल्दै रेल मन्त्री शेख़ रशीदले आगलागीको घटनाकारे छानविन गरिने र पीडितलाई क्षतीपुर्ती दिइने बताएका छन् । पाकिस्तानी सरकारी रेडियोमा बोल्दै उनले रेलमा को को सवार थिए भन्नेबारे जाँचबुझ गरिने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार