
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार मध्यान्ह बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाई सिफारिस गरेको हो ।
जसअनुसार काठमाडौंकी शर्मिला त्रिपाठी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको सचिवालय बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।
यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेबारे मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ । त्यस्तै केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ।
प्रदेश प्रमुखलाई संघीय सरकारको प्रतिनिधिको रुपमा लिइन्छ । सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो ।











