काठमाडौं । पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको हो ।
प्रहरीले गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर बताउने ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुमानमा उनीहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुनसक्ने बताइएको छ ।












