
काठमाडौं । खुलामञ्च मिचेर ब्यापारीका लागि बनाइएका टहराहरुमा तालाबन्दी गरिएको छ । खुलामंचसंगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा शुक्रबार काठमाडौं महानगरपालिकाले नै ताला लगाएको हो । रन्तपार्कको दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा पसलका लागि टहरा बनाएर भाडा दिदै मासिक लाखौं रकम असुल्दै आएका थिए ।
खुलामंच खालि गर्नुपर्ने जनस्तरबाट आवाज उठ्दै केहि दिनदेखि सांकेतिक प्रर्दशन समेत हुदै आएको थियो । उक्त जग्गामा बनेका टहराहरु हटाउनका लागि महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलको समेत सर्मथन रहदै आएको थियो । उनकै उपस्थितिमा आज टहराहरुको मेन गेटमा ताला लगाइएको हो ।

गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक ७ लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो । गुठी संस्थानले सुरुमा अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँमा भाडामा दिएको थियो ।
गुठी संस्थानले भट्टराईसँगको सम्झौता रद्द गरी सो देवस्थल र वरपरको प्रांगण सफा सुरक्षित गर्ने र कुनै संरचना बनेको भए खाली गराउने भनी निर्णय गरेकाले हटाइएको उपप्रमुख खड्गीले बताइन।










