शक्ति समूहको पहलमा आसामको कोठीबाट १ भारतीयसहित ७ महिलाको उद्धार

काठमाडौं । भारतको आसाममा रहेको एक कोठीबाट १ भारतीयसहित सात महिलाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएका सात महिलामा १ भारतीय र चार जना बालिका रहेका छन् । आसाममा लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको बताइएको छ । सिल्चारको सो कोठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि शक्ति समूहको तीन जनाको टोली आसाम पुगेको थियो ।

आसाममा रहेका स्थानीय संस्थाहरुसँगको समन्वय र शक्त्ति समूहको लामो अनुसन्धानपछि उनीहरुको उद्धार गरिएको शक्ति समूहका निमित्त कार्यकारी अधिकृत चरिमाया तामाङले जानकारी दिएकी छन् ।

दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर सोमवार साँझ महिलाको उद्धार गरिएको हो ।
गोप्य सूचनाका आधारमा त्यहाँ धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहले अध्ययन गरिरहेको थियो । त्यहाँको प्रहरीको सहायताले उद्धार कार्य सफल भएको हो ।

उद्धार गरिएकाहरु मध्ये एक जनालाई भारतको सरकारी पक्षलाई जिम्मा लगाई सकेको छ भने अन्य नेपाली महिलालाई त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ ।

तामाङका अनुसार उद्धार गरिसकेपछि नेपाल फर्काउने प्रक्रिया झन्झटीलो हुने भएकाले नेपाल ल्याउन समसय लाग्ने छ । कागज पत्र र पिडितको सबै डिटेल पनि पछि मात्रै खुल्ने उनले बताइन् ।

उद्धार गरिएका महिलालाई नेपाल ल्याउने पक्रिया सहज बनाइनु पर्ने उनको भनाई । प्रक्रिया लामो भएका कारण कतिपय महिलाहरु मानसिक रुपमा विछिप्त हुने गरेका घटनाहरु उनले सुनाइन् ।

अनमोल मिडियासँग कुरा गर्दै उनले भारतको मुम्मई र कोलकोत्तामा मात्रै महिलाहरुलाई यौन धन्दामा लगाइन्छ भन्ने सोंच गलत भएको बताएकी छन् । अन्य नयाँ नयाँ शहरमा पनि नेपाली महिला बेचविखनमा पर्ने भएकाले सचेत रहन सबै नेपाली महिलालाई तामाङले आगह्र गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार