काठमाडौँ । मन्त्रीमण्डल पनर्गठन गर्दा बर्खास्तमा परेका मन्त्रीहरुलाई काठमाडौंमा डेरा पाउन मुस्किल परेको छ । बर्खास्तमा परेको तीनदिन बितिसक्दा पनि डेरा खोज्न सकस भइरहेको छ ।
मन्त्रीहरुले डेरा नपाउँदा नयाँ मन्त्रीलाई मन्त्री क्वाटरमा डेरा सार्न पनि समस्या भएको छ । यो समस्या काठमाडौंमा डेरामा बस्दै आएका मन्त्रीलाई भएको छ ।
उनीहरुले आफन्त र इस्टमित्रहरुलाई कोठा खोज्न गुहार गरेपनि नपाएकाले मन्त्री क्वार्टर पुल्चोकमै अड्किनु परेको गुनासो गरेका छन् ।
तर काठमाडौंमै घर हुने मन्त्रीहरु भने डेरा खोज्नुपर्ने झण्झटबाट मुक्त भएका छन् । उनीहरु बिहीबार नै आफ्नो समान लगेर मन्त्री क्वाटर छोडेर घर गइसकेका छन् ।
बिहीबार नै कोठा खोज्नु पर्ने भन्दै नयाँ मन्त्रीलाई स्वागत गर्न मन्त्रालय समेत नपुगेका लालबाबु पण्डितले शुक्रबार सम्म कोठा पाएका छैनन् । सामानहरु पोको पार्द उनी मन्त्री क्वाटरमै बसिरहेको खबर रातोपाटीले छापेको छ । उनले कोठा खोजिदिन आग्रह समेत गरेका छन् ।
त्यस्तै बर्खास्तमा परेका अर्का मन्त्री चक्रपाणी खनाललाई पनि कोठा भेट्न मुस्किल परेको छ । खनालले बिहीबारै मन्त्री क्वाटर छाडेपनि कोठा भने भेटाएका छैनन् । उनले आफ्नो सामान भाइको कोठामा लगेर थन्काएको बताएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले भने क्वार्टर छोडिसकेका छन् । उनले भक्तपुरमा कोठा खोजेर सरेको बताएका छन् । अर्का मन्त्री गोकर्ण विष्टले भने बिहीबार क्वाटर छाडेर आफ्नै घरमा सरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गर्दा ६ मन्त्री र ३ जना राज्यमन्त्री हेरफेर गरेका थिए ।
काठमाडौंमा आफ्नै घर नभएका मन्त्रीहरुलाई डेरा पाउन निकै मुस्किल परिरहेको छ । उनीहरुले मासिक १८ देखि २० हजार सम्मको डेरा खोजिरहेका छन् ।









