कञ्चनपुर । आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरमा एकजना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरनाका शिक्षक मोहनसिंह ऐरी रहेका छन् ।
उनलाई प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको हो । ऐरीले लागु पदार्थ सेवन गरी आफ्नै श्रीमती सरस्वती ऐरीलाई सोमबार आत्महत्या गर्न बाध्य पारेका थिए । सरस्वतीको उपचारका क्रममा सोमबार राती सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको थियो ।
सरस्वतीका बुवाले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । शिक्षक ऐरी कैलालीको कालिका माविमा अध्यापन गराउँदै आएका छन् ।
प्रहरीले उनलाई अपराध संहिता २०७४ को १२ परिच्छेदको ज्यानसम्बन्धी कसुरको दफा १८५ को उपदफा १ अनुसार मुद्धा चलाएर कारवाहि गर्ने बताएको छ ।











