
कोहलपुर । ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि अशान्त बनेको बाँकेको कोहलपुर अझै शान्त हुन सकेको छैन । घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु उर्ग बनेपछि त्यहाँका बिधालय समेत आज बन्द गरिएको छ । प्रदर्शनकारीहरुले विद्यालयका गाडीहरुमा समेत तोडफोड गर्न थालेपछि स्थानिय विद्यालयहरु बन्द गरिएको प्रहरीले जनाएको छ ।
कोहलपुरस्थित प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले संयुक्त विज्ञप्ति निकालेर आज एक दिन विद्यालय बन्दको आह्वान गरेका हुन् ।आइतबार स्थानीय त्रिभुवन उच्च माविमा कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको थियो ।
घटनाको बिरोधमा बिधार्थीहरुले प्रदर्शन गर्दै ठक्कर दिने ट्रक जलाई दिएका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवै तर्फका करिब दुई दर्जन घाइते समेत भएका छन् ।
स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले कोहलपुर क्षेत्रमा निषेधाज्ञा जारी नै राखेको छ । ट्रकको ठक्करबाट घाइते चन्दलाई हिजै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।








