
बाँके । ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएको बिषयलाई लिएर हिजोदेखि अशान्त रहेको बाँकेको कोहलपुर शान्त पार्न सर्वपक्षिय छलफल सुरु भएको छ । कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत १२ बर्षिय प्रकृति चन्दलाई आइतबार ट्रकले ठक्कर दिएपछि अशान्त बनेको कोहलपुर शान्त पार्न सोमबार सर्वपक्षीय छलफल सुरू भएको प्रहरीले जनाएको छ ।
सर्वपक्षिय छलफल कोहलपुर नगरपालिका वडा नं. ८ स्थित कृषि तालिम केन्द्र पिपरीमा भइहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताए । उनका अनुसार हिजो आइतबार ३ बजेदेखि कोहलपुर क्षेत्रमा लगाइएको कर्फ्यू सोमबार पनि यथावत छ ।
आफ्ना बुवासँगै भे ६ प २७४० नम्बरको स्कुटरमा चढेर विद्यालय पुगेकी छात्रा चन्दलाई बिहान १० बजेतिर कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयको गेट अगाडि ठक्कर दिएर गम्भीर घाइते बनाएपछि एकाएक कोहलपुरको माहोल तनावग्रस्त बनेको थियो ।
आक्रोषित बिधार्थीहरुले ट्रकमाथि आगजनी गरेका थिए भने प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबैतर्फका झण्डै दुई दर्जन घाइते भएक थिए । प्रर्दशनकारीहरुले बिधालय गाडीमा समेत तोडफोड गरेपछि आज एक दिन कोहलपुरका बिधालयहरु बन्द गरिएको छ ।








