
काठमाडौँ । पाकिस्तानी दुतावास गएको भन्दै समाजवादी पार्टीले आफ्नो केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ । पार्टीलाई जानकारी नै नदिइ पाकिस्तानी दूतावासको एउटा कार्यक्रममा सहभागी भएको भन्दै नेत्री यादवलाई कारबाही गर्ने तयारी गरेको हो ।
भारतले जम्मु काश्मिरमा लगाएको धारा ३७० खारेज गरेको विरोधमा नेपालस्थित पाकिस्तानी दूतावासले गत कात्तिक १४ गते दूतावासभित्रै कार्यक्रमको आयोजना गरेको थियो जहाँ नेत्री यादव सहभागी भएकी थिइन।
भारत–पाकिस्तानबीच भएको द्वन्द्वकै विषयमा भएको कार्यक्रममा उनी सहभागी भएको भन्दै पार्टीभित्रै विरोध भएपछि उनलाई कारवाही गर्ने तयारी भएको हो ।
यसविषयमा मंसिर २६ गते बसेको पदाधिकारी बैठकले रेखा यादव पार्टीको नीति विपरित कार्यक्रममा सहभागी भएको ठहर गर्दै अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो । शुरुमा उनलाई स्पष्टीकरण सोधिने र त्यसपछि स्पष्टीकरणको जवाफको आधारमा कारवाही प्रकृया अगाडि बढाइने बैठकको निर्णय थियो ।
यसअघि चीन विरोधी गतिविधिमा लागेको भन्दै सो पार्टीका नेतृ सुनिता साहलाई पनि समाजवादी पार्टीले कारवाही गरेको थियो ।









