सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, ६ जनाको सनाखत

काठमाडौँ । आइतबार बिहान सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने मृतकमध्ये ६ जनाको सनाखत भएको छ ।

दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बा २ ख ४४६८ नम्बरको बस आइतबार बिहान ८ः३० बजेतीर सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १८ जना घाइते थिए । घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतक संख्या १५ पुगेको हो ।

मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेको सिन्धुपाल्चोक प्रह्रीले जनाएको छ । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर गणेश खनालले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ,सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की सबिना तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाकी मञ्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ, र भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत रहेका छन् ।

दुर्घटनामा घाइते १६ जनाको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार