जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता, खोजी गर्न गृहमन्त्रालयमा पत्र


जुम्ला । जडीबुटी खोज्न गएका जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् ।
जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।

ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । वडाध्यक्ष बोहोराका अनुसार उहिरु गाँउबाट सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने पाटनतर्फ लागेका थिए ।

बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेको बडाध्यक्ष बोहोराले बताए ।

बेपत्ताहरुको खोजी गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाइएको जानकारी दिए । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृहमन्त्रालयसँग आग्रह गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार