
काठमाडौं । कास्की क्षेत्र न. २ बाट उप निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज (मंगलबार) पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।
सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।
भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।
कस्की–२ को उपचुनावमा भट्टराईले नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्दै विजय भएकी थिइन । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् ।










