
काठमाडौं । दक्षिण एसियामै पहिलो पटक नेपालमा ‘पार्टी बस’ भित्र्याइएको छ । यो बसका बारेमा सुन्दा अच्चम लाग्न सक्छ । पार्टी बस, यो नाम सुन्ने बित्तिकै सिधा सिधा अनुमान गर्न सकिन्छ कि बस भित्र पार्टी गर्ने । हो, यो अनुमान ठिकै हो ।
हुन त सामान्यतया पार्टी घर या कुनै होटल रेष्टुरामा हुने गर्छ । तर, अब बस भित्र नै फुल पार्टीको आन्नद लिन सकिने भएको छ ।
पार्टी बस नेपाल नामक कम्पनीले अब ठूलो ‘पार्टी बस’ सञ्चालनमा ल्याउने भएको छ। यो बस जनावरी दोस्रो सातादेखि सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक अशोक शर्माले बताएका छन् । कम्पनीले बताएअनुसार यस्तो बस दक्षिण एसियामा पहिलो पटक नेपालमा ल्याइएको हो ।
बसभित्रका सुविधा

पार्टी बसभित्र सुविधा सम्पन्न बार, छुट्टै धुम्रपान क्याबिन, डान्स फ्लोर, डिजे म्युजिक लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।
बस पार्टीको शुल्क
अंग्रेजी नयांबर्षलाई मध्यनजर गर्दै जनवरी दोस्रो सातादेखि संचालनमा आउने बस पार्टीभित्र उपलव्ध विभिन्न सुविधामा छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार हप अन पार्टी राइडको प्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, प्राइभेट पार्टीको ३ घण्टाको ३ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १ हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रति घण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीको वेब साइटमा उल्लेख छ।
त्यस्तै, कम्पनीले एयरपोर्ट ल्याउन पुर्याउनको लागि ‘वान वे’को २ हजार रुपैयाँ र ल्याउने र पुर्याउनको लागि दुई तर्फी ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।
पार्टी बस नेपालले स्पेसल थिमको पार्टीको लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ। बस भित्र फरक आन्नद लिन मिल्ने खालको यो बस पार्टीको अहिले बजारमा खुब चर्चा भइरहेको छ ।











