
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद् सुदन किरातीले सूर्य थापालाई प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकारबाट तुरुन्त हटाउनुपर्ने बताएका छन् । थापालाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्रीले महागल्ती गरेको किरातीले टिप्पणी समेत गरे ।
शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट बोल्दै सांसद किरातीले थापालाई कारबाहीको माग समेत गरे ।
राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर प्रधानमन्त्रीले गल्ती गरेको भन्दै उनले माफी माग्नुपर्ने बताए ।
जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति दिएका थिए ।
उक्त अभिब्यक्तीको जवाफ दिदैं किरातीले भने– “थापाको अभिब्यक्ती अत्तिनै भयो, त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?”
किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि थापालाई चुनौती दिए । “सूर्य थापा मालिक र जनता दास हो ? जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ । सूर्य थापासँग मात्र होइन, अब यो विषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ’, सांसद् किरातीले भने ।










