
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरुको संचारमाध्यमहरुले प्रचार नगरेको फेरी गुनासो गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो दोहोर्याएका हुन ।
सञ्चारमाध्यममा आफ्नो र सरकारका बारेमा आएका समाचार प्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री ओलीले भने, प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चार माध्यमले फेरि पनि मैले बाँसुरी नै बजाएको फोटो राखेर समाचार छाप्छन् ।
प्रधानमन्त्री ओलीले आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको समेत गुनासो गरे ।
उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको समेत बताए । सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको उनको भनाई छ। आफुले तुईन विस्तापित गर्छु भन्दै प्रगति पेस गर्दै गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको उनले गुनासो गरे ।
“मैले एकजना बुद्धिजीवीलाई नधम्क्याउनुहोस् प्लीज भनेर भने, उहाँ उल्टै मैले धम्क्याए भनेर हल्ला गरे,यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन, देश विकास आग्रह पूर्वाग्रहको विषय होइन, देश विकास साझा अभिभारा हो । तुईन विस्थापित भएकोमा रुवाबासी छ कतिको, अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन्, दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुःख गर्या होला ? कठै बरी ।”










