
काठमाडौं । नेकपा (माले) ले महासचिव सीपी मैनाली चढेको कार दुर्घटनाबारे केन्द्रीय अनुसन्धान व्यूरो ( सिआईवी) ले छानविन र अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।
मालेको प्रतिनिधिमण्डलले मंगलबार उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापासंग सिंहदरवारमा छुट्टाछुट्टै भेट गरी दुर्घटनाबारे यस्तो माग गरेको हो ।
महासचिव मैनाली चढेको कार २०७६ फागुन १५ गते झापाबाट काठमाडौं आउँदैगर्दा महोत्तरीको बर्दिवासस्थित रातु नदी नजीक दुर्घटनामा परेको थियो ।
मालेले उक्त दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै सीआईबीद्वारा छानविन गराई सत्यतथ्य जनतासमक्ष ल्याउन तथा दोषीलाई अविलम्ब कानुनी कार्यवाही गर्न माग गरेको छ।
भेटमा दुर्घटनाबारे छानविन गराई सत्यतथ्य बाहिर ल्याउने सरकारकातर्फबाट प्रतिवद्धता जनाइएको माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मैनाली, उनका छोरा सरोज, बुहारी पूजा, ५ वर्षीय नाति ऐन र कार चालक रामप्रसाद पौडेललाई उपचारका निम्ति काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएर सहयोग पु¥याईएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरेको छ ।










