
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गरिदै छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि उनलाई शुक्रबार साँझ डिस्र्चाज गरिन लागिएको अस्पतालले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीलाई १९ फागुनमा अस्पताल भर्ना गरिएको थियो भने २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो । १२ बर्षअघि पहिलो पटक भारतको अपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि ओलीकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । समिक्षा अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
यद्यपि उनलाई केहि महिना पुर्ण आरामको खाँचो पर्ने अस्पतालले जनाएको छ । साथै उनलाई रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन समेत चिकित्सकहरुले सल्लाह दिइएका छन् ।









