
काठमाडौँ । सरकारले भोली (शुक्रबार) देखि उपत्यकाका ५ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ ।
बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्ति मन्त्री लेखराज भट्टले शुक्रबारदेखि साल्ड ट्रेडिङले उपत्यकाका ५ स्थानमा सुपथ मुल्यका पसल संचालन गर्ने जानकारी दिएका हुन।
मन्त्री भट्टाका अनुसार खाद्यान्न ४ देखि ६ महिनासम्म पुग्ने, ८ महिनासम्मलाई पुग्ने औषधि, १० महिनालाई पुग्ने आयोडिन नुन र ३ महिनासम्मका लागि पर्याप्त चिनी रहनेगरी पसलहरु संचालन हुनेछन् ।
त्यस्ता पसलहरु काडमाठौं उपत्यकाको सतुगंल, कालीमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा संचालन हुनेछन् । ललितपुर महानगरसँगको समन्वयमा जाउलाखेलमा शनिवारसम्म सुपथ मुल्यका पसल सञ्चालनमा आईसक्ने समेत जनाइएको छ ।
बालाजु र चाबहिलमा त्यस्तो पसलका लागि गृहकार्य भईरहेको साल्ट ट्रेडिङका कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । उनका अनुसार त्यस्ता पसलमा खाद्यन्न तथा नुन सुपथ मूल्यमा पाईनुका साथै एसटीसी ग्यासको सिलिन्डर पनि साटिने छ ।
मन्त्री भट्टले पेट्रोलियम पदार्थ पर्याप्त भएको उल्लेख गर्दै व्यवस्थापनमा मात्रै समस्या रहेको बताए।
“खाद्य १ क्वीन्टल लिनेले १० क्वीन्टल पनि लिएका छन्। ग्यास पनि यस्तै भएको छ। जनताको घरमा छापा मार्ने स्थिति हुन्न राज्यको,”मन्त्री भट्टले भने ।
मास्क र ह्यान्ड स्यानिटाइजर मागअनुसार आपूर्ति गर्न नसकेको स्विकार्दै मन्त्री भट्टले कालोबजारी गर्नेलाई कडा कारवाही हुने बताए ।
ग्यास कालोबजारी गर्ने ब्यापारीलाई फागुनयता ५६ लाख ३० हजार जरिवाना भराइएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।










