
नयाँदिल्ली । भारतमा भएको एउटा सामुहिक बलात्कारकाण्डका दोषी चारजनालाई फाँसी दिइएको छ ।
आठ बर्षअघि २३ बर्षीया निर्भयालाई सामुहिक बलात्कार गर्ने ४ जना भारतको तिहाड जेलमा शुक्रबार बिहान फाँसी दिएको हो ।
भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
निर्भया बलात्कार घटनाका दोषीहरु २५ वर्षीय विनय शर्मा, २५ वर्षीय पवन गुप्ता, ३२ वर्षीय मुकेश सिंह र ३१ वर्षीय अक्षय कुमारलाई तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन्।
भारतीय समाचारमाध्यमहरु जनाएअनुसार उनिहरुलाई मृत्युदण्ड दिनुअघि बिहान नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरेका थिए ।
फँसीमा झुण्ड्याएको ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको थियो ।
भारतीय कानुनले बलात्कार पीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो। आफ्नो अन्तिम सास रहेसम्म पीडित युवती न्यायका लागि लडिरहेकाले उनलाई निर्भयाका नाम दिइएको हो ।
फाँसी दिइनु एकदिन अघि हिजो (बिहीबार) दोषी चारै जनाका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा माफी (याचिका) दिइनुपर्ने भन्दै निवेदन दायर भएपनि दुवै अदालतले खारेज गरिदिएका थिए।
त्यसपछि उनिहरुलाई शुक्रबार बिहान फाँसी दिइयो । यसअघि राष्ट्रपति रामनाथ कोविन्दलाई दोषीहरुको सजाय माफीका लागि दया याचिका पठायएको थियो ।
१६ डिसेम्बर , २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक निर्भयामाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए। उनिहरुले निर्भयामाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए।
घटनाका दोषी अन्य दुईजनामध्ये मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो। ३३ वर्षीय सिंह बसका ड्राइभर थिए । अर्को दोषी नाबालिग भएको भन्दै रिहा गरिएको थियो । उनलाई ३ वर्ष सुधारगृहमा राखेर रिहा गरिएको हो।
३६ बर्षपछि अर्को सामुहिक फाँसी
भारतमा ३६ बर्षपछि अघि यसैगरी कुनै घटनाका दोषीलाई सामुहिक रुपमा फाँसीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।
३६ बर्ष ५ महिना अघि २५ अक्टुबर १९८३ मा भारतको पुणेस्थित येरवड़ा सेंट्रल जेलमा यसैगरी चारजनालाई एकसाथ फाँसी दिइएको थियो । उनिहरु सीरियल हत्याका दोषी थिए ।
छोरीको आत्माले बल्ल शान्ती पायो– आमा
बलात्कारीलाई फाँसी दिइएपछि निर्भयाकी आमाले छोरीको आत्माले शान्ती पाएको प्रतिकृया दिएकी छन् । केहि भारतिय संचारमाध्यमहरुमा प्रतिकृया दिदै निर्भयाकी आमाले ढिलै भएपनि छोरीका बलात्कारीलाई मृत्युदण्ड दिएर राज्यले आफुमाथि न्याय गरेको बताएकी छन् ।
उता, फाँसीमा चढाएर मृत्युदण्ड दिइएको परिवारले अन्तिम पटक आफुलाई भेट्न नदिएप्रती गुनासो गरेका छन् । तर प्रहरीले भने कोरोना भाइरसका कारण भेट्न नदिइएको बताएको छ ।











