
काठमाडौँ । दार्चुला पारी भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका वासुदेव भट्टलाई नेपाल फर्काउन पहल गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका १ का भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो ।
लकडाउनका कारण सिमानाका बन्द भएपछि घर आउन नपाएका उनी अहिले दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै छन् । क्वारेन्टाइनमा हुँदै घरमा आमाको मृत्यु भएपछि उनी क्वारेन्टाइनमै किरिया बसेका छन्।
यस्तो अवस्थामा उनलाई नेपाल ल्याउन आवश्यक पहल गर्न गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई निर्देशन दिइसकेको बताएका छन् ।
उनलाई नेपालको प्रहरी भन्दा पनि भारतीय प्रहरीले नै नेपाल आउन दिइरहेका छैनन् । यस्तो संवेदनशील काममा पनि उनलाई नेपाल ल्याउन नसक्नु निकै दुखत हुने भन्दै प्रवत्ता शर्माले तत्काल भारतीय प्रहरीसँग समन्व्य गरेर नेपाल ल्याउन आफुले निर्देशन दिइसकेको बताए ।
उनलाई नेपाल ल्याउने विषयमा दार्चुला प्रशासनले पहल सुरु गरिसकेको छ ।










