दार्चुला सीमा नाकाबाट अलपत्र नेपालीको उद्धार कार्य सुरु


दार्चुला । कोरोनाका कारण भारतबाट आएर महाकालीपारि अलपत्र परेका नेपालीहरुको उद्धार कार्य सुरु भएको छ । दार्चुला सीमा नाकामा अलपत्र परेका नेपालीहरुको बिहीबार बिहानदेखि उद्धार कार्य सुरु गरिएको दार्चुला प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दार्चुलाको पुलघाट र दत्तु नाकाबाट अलपत्र नेपालीहरुको उद्धार कार्य सुरु भएको छ । रोजगारीका लागि भारतमा रहेका उनिहरु कोरोनाका कारण घर फर्किन लाग्दा लकडाउनमा परि दुई हप्तादेखि महाकालीपारि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

क्वारेनइन अवधि पुरा गरेर पनि सीमा मै कष्टकर दिन बिताउन बाध्य उनिहरुलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा उद्धार गरिएको हो । बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उद्धार सुरु गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

महाकालीपारि अलपत्र नेपालीको उद्धारका लागि जिल्ला प्रशासनले प्रदेश र केन्द्र सरकारसंग समेत समन्वय गरेर उद्धार कार्य सुरु गरेको सहायक प्रजिअ कुँवरले बताए ।

बैतडी नाकाबाट पनि उद्धार सुरु
भारतबाट आएर बैतडीको सीमा नाकामा अलपत्र परेका नेपालीको पनि बिहीबार बिहानबाट उद्धार कार्य सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको झुलाघाट नाकाबाट अलपत्र नेपालीहरुको उद्धार कार्य  भइरहेको हो ।

लकडाउनका कारण सुदूरपश्चिमको दार्चुला, बैतडी, कंचनपुर र कैलालीका सीमा नाकामा अहिले पनि हजारौं नेपालीहरु उद्धारको पखाईमा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार