
काठमाडौं । दार्चुलाको कालापानी नजिकै सिमा सुरक्षा चेकपोस्ट (बिओपी) राखिदैछ । सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोलीलाई दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा राख्न लागिएको हो । छाङरु कालापानी भन्दा करिब १२ किलोमिटर वर पर्दछ ।
उक्त स्थानमा सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागि बुधबार काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारयाणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको छ ।
गृहमन्त्रालयका अनुसार छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको सुरक्षा टोली आजै खटाइँदैछ । सईको नेतृत्वमा १० जनाको प्रहरी टोलीलाई पनि छाङरूमा राखिदैछ ।
जाडोको बेला हिउँ परेर बस्न नसकिने भएकाले नेपाल प्रहरीको उक्त टोली छाङरूभन्दा तल सीतापुर स्थानमा बस्दै आएको थियो ।भौगोलिक विकटता रहेको छाङरुमा हेलिकोप्टरमार्फत ६ महिनाका लागि बन्दोबस्ती, खाद्यान्न, हातहतियार, सामान्य मेडिकल सामाग्रीहरु पुर्याइदैछ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार छाङरुमा सशस्त्रको सीमा सुरक्षा टोली हालका लागि भाडाको घरमा बस्नेछ ।सरकारले छाङरूमा सुरक्षा पोष्ट स्थापना गर्ने निर्णय गरेको धेरै भएपनि त्यहाँ सुरक्षाकर्मी राख्न सकेको थिएन ।
भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपनि सरकार सीमा सुरक्षाका लागि तातेको हो । भारतले एकलौटी रुपमा नेपाली भूमीमा लिपुलेकबाट तिब्बतको मानसरोवर जाने सडक बनाएकोप्रती अहिले नेपालमा दिनहुँ भारतबिरोधी प्रर्दशन भइरहेका छन् ।
सरकारले भारतलाई दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमी रहेको बताउँदै आएको छ । तर, भारतले उक्त तीनै भूभागलाई यसअघि नै आफ्नो नक्सामा राखेर सार्वजनिक गरिसकेको छ ।









