कालापानी नजिकै बस्यो सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको टोली


दार्चुला। सीमा सुरक्षार्थ कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । बुधबार दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा बीओपी स्थापना भएको हो ।

छाङरुमा हाललाई सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको टोली राखिएको सशस्त्र प्रहरीले जनाएको छ । छाङरु मै सईको नेतृत्वमा १० जनाको प्रहरी टोलीलाई पनि राखिदैछ । छाङरु कालापानी भन्दा करिब १२ किलोमिटर वर पर्दछ ।

छाङरुमा बिओपी स्थापनाका लागि बुधबार बिहान सेनाको काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारयाणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको थियो ।

भौगोलिक विकटता रहेको छाङरुमा हेलिकोप्टरमार्फत ६ महिनाका लागि बन्दोबस्ती, खाद्यान्न, हातहतियार, सामान्य मेडिकल सामाग्रीहरु पनि पुर्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार छाङरुमा सशस्त्रको सीमा सुरक्षा टोली हालका लागि भाडाको घरमा बसेको छ । सीमा सुरक्षाका लागि सरकारले छाङरूमा सुरक्षा पोष्ट स्थापना गर्ने निर्णय गरेको धेरै भएपनि त्यहाँ सुरक्षाकर्मी राख्न सकेको थिएन ।

भारतले नेपाली भूमी लिपुलेकमा शुक्रबार मात्रै सडक बनाएर उद्घाटन गरेपछि सरकारले तत्काल सुरक्षा पोष्ट राख्ने निर्णय गरेको थियो ।नेपाली भूमी लिपुलेकमा भारतले एकलौटी रुपमा सडक बनाएपछि त्यसको देशभर चर्को बिरोध भइरहेको छ ।

भारतले यसअघि नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको थियो । त्यसबेला देखि नै नेपालमा भारतबिरोध प्रर्दशन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार