
काठमाडौं । कोरोनाबाट संक्रमण हुनेको संख्या नरोकिएपछि भारतले पुनः लकडाउन लम्ब्याएको छ । भारत सरकारले गरेको निर्णयअनुसार लकडाउन मे ३१ तरीख सम्म लम्बिएको छ । भारतमा यो चौथो चरणको लकडाउन हो ।
भारतको गृह मन्त्रालयले पनि यो चरणको लकडाउनको लागि दिशानिर्देश पनि जारी गरेको छ । जसअनुसार मे ३१ सम्म सबै घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द रहने उल्लेख छ । साथै मेट्रो रेल सेवा पनि बन्द रहने र बेलुकाको ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू जारी रहने बताइएको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमतिको संख्या ९२ हजार २३९ छ भने मृत्यु हुनेको संख्या २ हजार ९११ रहेको छ ।
स्मरण रहोस अहिले नेपालमा देखिरहेका कोरोना संक्रमितहरु भारतबाट फर्केका बढी छन् । आज बिहान मात्रै कोरोनाबाट मृत्यु हुने बाँकेका युवक पनि दुई हप्ताअघि भारतबाट फर्केका थिए ।









