
कैलाली । कैलालीमा फेरी क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी गाउँपालिका -९ पूर्वखैरीफाटाका ३४ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आज (मंगलबार) दिउँसो मृत्यु भएका युवकको क्वारेन्टिनमा आरडिटी जाँच गर्दा रिर्पोट नेगेटिभ आएपछि उनलाई जेठ २८ गते घर पठाइएको थिए । उनी श्रीमती र छोरीसंगै जेठ १५ गते भारतको गुजरातबाट फर्केका थिए ।
घर पठाएको झण्डै २ सातापछि उनको मृत्यु भएकाले स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। श्वाबको रिपोर्ट नआएसम्म दाहसंस्कार नगरिने र शव घरमै रहने समेत प्रवक्ता विष्टले जानकारी दिए ।
यसअघि हिजो पनि कैलालीको लम्कीचुहा नगरपालिका ७ मा क्वारेन्टिनबाट घर गएका ३६ बर्षीय युवकको मृत्यु भएको थियो ।








