
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण बढीरहेको छ । अहिलेसम्म १ सय ७५ जना ९ वर्षमुनिका बालबालिकालाई कोरोना सक्रमण भएको छ ।
एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमण देखिएका ९ वर्षमुनिका बालबालिका सबै आफ्ना अभिभावकसँग भारतबाट फर्किएका रहेका छन् । कोरोना संक्रमणका कारण एक दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ११ महिना बालक कोरोना जितेर घर फर्किएका छन् ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा दुई हजार ४ सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५ सय ७३ जना महिला रहेका छन् ।
कोरोना संक्रमणबाट अहिलेसम्म सुदूरपश्चिममा प्रदेशमा पाँच जनाको मृत्य भएको छ, भने ४ सय ७९ जनाले कोरोना जितेका छन् ।
९ वटा जिल्लामध्ये सबै भन्दा बढी कैलालीका ५ सय ९७ जना संक्रमित रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा हजारौंको संख्यामा भारतबाट आएकाले कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने बताइएको छ । परीक्षणको दायरा बढाएर क्वारेन्टिनको व्यवस्थापन गर्न सक्यो भने समूदायमा संक्रमण हुने खतराबाट बच्न सकिन्छ ।









