
काठमाडौं । आइतबारदेखि देशैभरी भारी बर्षा भइरहेको छ । वर्षाका कारण देशका विभिन्न ठाउँका नदीहरुमा पानीको बहाव बढेको छ, बाढीपहिरोले घर भत्काएको छ, पहिरोले बाटो अबरुद्ध भएका छन् भने, तराईतिर बस्ति नै डुवानमा परेका छन् ।
वर्षाले गर्दा धेरै ठाउँमा ठूलो धनजनको क्षति भएको छ । त्यस्तै ठूला नदीहरु सप्तकोसी, नारायणी, गण्डकी लगायतमा पानीको बहाव बढेको छ । नदीमा बढेको पानी बस्तिमा पसेर क्षती गर्ने भएकाले धेरैलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ ।
पूर्वको सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।
कोसी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च छ । बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै नारायणी नदीमा पनि पानीको बहाव वर्षकै उच्च छ । नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा ४ लाख २८ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । नदीको सतह खतरा भन्दामाथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ ।
नदीले खतरा बढेपछि आसपासका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
अझै ४ दिनसम्म पानी पर्ने भएकाले अन्य ठाउँका स्थानीयलाई पनि सुरक्षित रहन सम्बन्धित स्थानीय प्रशासनले आग्रह गरेको छ ।












