
काठमाडौं । काठमाडौं उपत्यकामा फुटपाथ र ठेलागाडाको व्यापार रोक्न काठमाडौं महानरपालिकाले प्रशासनलाई आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्न सक्ने भएकाले तत्काल व्यापार रोक्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई आग्रह गरेकी हुन् ।
जिल्ला प्रशासन कार्यालयले भदौ २५ गतेबाट काठमाडौ उपत्यकामा फुटपाथ र ठेलागाडाको व्यपार खुल्ला गरेको थियो । प्रशासनको क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भनिएको छ।
आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न अनुरोध समेत गरेकी छन् ।
उनले महानगरको नीतिमै यो व्यवसाय हटाउने योजना भएकाले अहिलेको अवस्थामा सुरु गर्न नहुने बताएकी छन् । उनले यस ठाउँमा स्वास्थ्य सुरक्षा उपाय अवलम्बन गर्ने कम मात्र सम्भावना हुने, अनुगमन गर्न कठिन हुने र कन्ट्याक्ट ट्रेसिङ् जटिल हुने भएकोले आदेश सच्याएर पुनः आदेश जारी गर्न भनेको बताइन् ।












