
काठमाडौँ । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्ने सिफारिस समेत गरेको छ ।
पूर्वअर्थमन्त्री डा. खतिवडाको कार्यकाल सकिएलगत्तै प्रधानमन्त्री केपी ओलीले सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । यसअघि वैरागी परराष्ट्र सचिवको जिम्मेवारीमा थिए ।
राजीनामा स्विकृत भएका रेग्मीलाई सरकारले बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस समेत गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।










