
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ बताएका छन् । सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको उनको भनाई छ ।
आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ ।
प्रधानमन्त्री ओलीले देशका अनेक ठाउँमा विद्यालय, विश्वविद्यालय, बाटोघाटो, पुलपुलेसा, भवन निर्माण भइरहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै उनले पूर्वपश्चिम रेलमार्गको काम समेत भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले रेल ल्याइसकिएको र छिटै सञ्चालनमा आउने बताए ।
‘सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ उनले भने, नकरात्मक प्रवृत्तिका ब्यक्तिहरु राम्रा कामहरु देखेर आत्तिएका छन ।










