
काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयलसँगको भेट कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ओली र रअ प्रमुख गोयलबीच भएको भेटबारे आफ्ना धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
“मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको । नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ”, प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन् ।
पुप्तचर शैलीमै भएको रअ प्रमुख गोयल र प्रधानमन्त्रीबीचको भेटवार्तालाई लिएर अहिले निकै विरोध भइरहेको छ । विरोधलाई प्रधानमन्त्रीनिकट नेताहरूले बचाउ गरिरहेका बेला पार्टी प्रवक्ताले नै उक्त भेटवार्ता राजनीतिक र कूटनीतिक मर्यादाविपरीत रहेको बताएपछि नेकपाभित्र यो बिषय पेचिलो बनेको छ ।
गोयललाई भारत सरकारले विशेष दूतका रूपमा पठाएकोबारे पनि कुनै जानकारी प्रधानमन्त्रीको तहबाट नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
“विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियारी प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन”, उनले लेखेका छन् ।
।
गोयल गत बुधबार काठमाडौं आएर त्यही राती प्रधानमन्त्री ओलीसँग बालुपाटारमा भेटवार्ता गरेका थिए । रअ प्रमुख गोयलको नेपाल भ्रमणबारे भारत र नेपाल सरकार दुबैले गोप्य नै राखेका थिए । उनी बिहीबार भ्रमण सकेर दिल्ली फर्किएपछि मात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयल र प्रधानमन्त्रीबीच शिस्टाचार भेटवार्ता भएको जानकारी दिएका थिए ।










