पाँच दलका नेताहरु राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध भोलीमात्रै सर्वोच्च जाने


काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु भोलीमात्रै सर्वोच्च अदालत जाने भएका छन् ।

आइतबार नै सर्वोच्च जाने तयारी भए पनि आवश्यक कागजात मिलाउने कार्य नसकिएकाले भोलीमात्रै अदालत जाने भएका हुन् ।

आज सांसदहरुको नागरिकता र हस्ताक्षर संकलन गर्ने कामसहित रिट तयार पार्ने र भोली बिहान सर्वोच्च जाने तयारी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए । उनकाअनुसार कागजात संकलन गर्न ढिलाई भएका कारण आज रिट दर्ता हुन नसकेको हो ।

प्रधानमन्त्री केपी ओलीको सिफारीसमा राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राती प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको मिति घोषणा गरेको कार्यविरुद्ध विपक्षी दलहरु सर्वोच्च जान लागेका छन् ।

राष्ट्रपति र प्रधाननमन्त्रीले अलोकतान्त्रिक र असंवैधानिक ढंगले ससद विघटन गरेकाले न्याय माग्न सर्वोच्च जान लागेको उनिहरुको भनाई छ ।

संसद विघटनअघि राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि विपक्षीलाई दिएको समयसीमा शुक्रबार साँझ ५ बजेभित्र नै विपक्षी दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी गर्दै १ सय ४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष पत्र दर्ता गराएका थिए । त्यही समयमा प्रधानमन्त्री ओलीले पनि आफुलाई प्रधानमन्त्रीको दावी गर्दै पत्र दर्ता गराएका थिए । पछि राष्टपतिले दुबै दावी नपुगेको भन्दै मध्यावधी चुनाव घोषणा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार